प्रधानमन्त्री शेरबहादुर देउवाले अझै एक साता मन्त्रिमन्डललाई पूर्णता नदिने भएका छन्। प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम दिन गठबन्धनका नेताहरूलाई आग्रह गरिरहेका छन्। तर गठबन्धनका दलहरूले तत्कालै मन्त्रीहरूको नाम दिने सम्भावना देखा परेको छैन।
गठबन्धनमा रहेको मुख्य एक दल नवगठित नेकपा (एकीकृत समाजवादी) ले असोज ५ गते केन्द्रीय कमिटी बैठक बोलाएकोले त्यो बैठकपछि मात्रै उक्त पार्टी सरकारमा जाने संकेत गरेको छ।
साथै प्रतिनिधि सभाको बैठक पनि असोज ४ गतेका लागि बोलाइएको छ। सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याए पनि पारित भएको छैन।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए।
आज नयाँ बानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताए।
‘हामीले पार्टी गठन गरिसकेका छौं, सरकारमा जान कुनै समस्या छैन,’ उनले भने, ‘आज भने आज भोलि भने भोलि सरकारमा जान तयार छौं।’
उनले सरकारमा सामेल हुने पनि बताए। केन्द्र र प्रदेश सरकारमा महत्वपूर्ण भूमिका रहने अध्यक्ष नेपालको भनाइ थियो। तलैसम्म सहकार्य गरेर जाने पनि उनको भनाइ थियो।
प्रदेश नम्बर १ र ३ मा उक्त पार्टीले मुख्यमन्त्री दाबी गरिरहेको छ। कुनै पनि दिन ती प्रदेशमा मुख्यमन्त्री फेरिएको खबर आउने पनि अध्यक्ष नेपालले बताए।
‘सरकारले केही दिनभित्र पूर्णता पाउँछ। असोज ५ मा केन्द्रीय कमिटी बैठकसँगै सम्भवत हामी सरकारमा सहभागी हुनेछौं,’ उनले भने।
प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट १ राज्यमन्त्री मात्रै बनाएका छन्। प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्।
देउवा प्रधानमन्त्री भएको दुई महिना भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।