विमलेश यादव मेरो घरछेउ कपाल काट्ने काम गर्छ। आफ्नो परिवारसहित डेरामा बसिरहेको ऊ लकडाउन भएयता नि पसल बाहिरै देखिने गर्छ। सकेसम्म कोठामा समय बिताउनै खोज्दैन ऊ।
बेलाबेला सानो सर्टर घ्वार्र घ्वार्र खोलिरहन्छ, बन्द गरिरहन्छ। खोलेको मौकामा संयोगवस् वरिपरिका फाट्टफुट्ट दाह्री-कपाल मिलाउन आउँछन्। काम सकेर ऊ फेरि सर्टर तान्छ, एकैछिन हराउँछ। एकछिनपछि फेरि घ्वार्र... तर यो पल्ट उही संयोग उसलाई जुर्दैन। बाहिर पेटीमा उभिएर यताउता हेर्छ, परपर सुन्छ। सन्नाटा पाउँछ सायद, फेरि घ्वार्र।
लकडाउन भएको ७/८ दिनयतादेखि उनको दिनचर्या यसरी नै चलिरहेकै छ। अनि म उसको यी क्रियाकलाप बाल्कोनीमा घाम तापेर हेरिरहन्छु। के उसलाई छिनछिनमा साइरन बजाएर आइरहने पुलिसको डर लाग्दैन? कमसेकम कोरोना सर्छ/सारिन्छ भन्ने डर त होला नि? उसको अटेरीपना देखेर झरंग रिस उठ्छ।
भावआवेगमा १०० मा फोन गरेर कम्प्लेन लेखाउन तम्सिन मन लाग्छ। फेरि उसको पटक/पटकको उही बेचैनी देखेर अनायासै म रोकिन पुग्छु। रिसाएको बेला उसको नियत खराब देख्ने म यसरी रोकिएको बेला उसको नियती झनै खराब देख्न थाल्छु।
आखिर उसको त्यो कस्तो बेचैनी हो जसले मलाई सोच्न बाध्य बनाउँछ?
अखिर उसको त्यो कस्तो नियती हो जसले उसको नियतलाई नजरअन्दाज गर्न मजबुर गराउँछ?
लकडाउन भएको दिनदेखिनै बरन्डामा अधिकांश समय बिताउने म साक्षी छु, विमलेशलाई चिन्नेहरू साक्षी छन् ,कि लकडाउनका सुरू-सुरूका दिनमा ऊ चुप लागेर कोठाभित्रै बसेको हो।
सायद आशा थियो कि ‘केही दिनमै यो लकडाउन फटाकसे खुलिहाल्नेछ र म फेरि मान्छेका कन्सिरी चकाचक खोल्न थालिहाल्नेछु।’ तथापि उसलाई आफ्नो उम्मिद टुट्दैन भन्ने डर नभएको नि होइन। जे कुराको माया ज्यादा हुन्छ, त्यसको उम्मिद टुट्ने डर पनि ज्यादा नै हुन्छ। किनकी उसको सबभन्दा बढी माया त अहिले मुन्नासँग गाँसिएको छ।
मुन्ना, भर्खर-भर्खरै जन्मिएको उसको छोरा।
त्यसैले त कुनै हालतमा उसलाई सर्टर खोल्नुछ, टोल-छिमेकका दाह्री-जुंगा छोट्याउनुछ। किनकी उसलाई थाहा छ, दाह्री-जुंगा छोट्याउन पाएन भने उसका गाँस पनि छोट्टिने छन् भनेर। मान्छेका कपाल लामा भए भने मुन्नाको रुवाइ पनि लम्बिने छ भनेर। कोरोनादेखि मात्रै डराउने नियती कहाँ छ र उसको!
नेपालीमा एउटा प्रसिद्ध भनाइ छ नि! घाँटी हेरी हाड निल्नू। विमलेश ठ्याक्कै यसै गर्दो हो। प्लाष्टिकमा आलु हेर्दो हो, अलिअलि गर्दै एकैपटकको छाकलाई दुईचोटि पकाउँदो हो। यसो गर्दा ‘भैया, १ मा हैन २ मा हान्दिनु न है’ भनेको नि याद गर्दो हो।
याद गर्दो हो कोलिनको बट्टाबाट पुचुक-पुचुक हानेको पानीलाई, सरक-सरक दगुडाएको काइँयोलाई। कैंचीको च्कच्क आवाज नि याद गर्दो हो। यादको के सीमा हुन्छ र!, गर्दै जाँदा इमरान खानसँग समेत ठोक्किँदो हो ऊ। उनै इमरान खान, पाकिस्तानका प्रधानमन्त्री।
उनले एक साताअघि आफ्नो देशमा दैनिक ज्याला मजदुरी गर्दै बाँच्ने विमलेश जस्ता धेरै मान्छे रहेका हुनाले सरकारको तर्फबाट लकडाउनभन्दा पनि आफैं बुझेर सेल्फ-क्वारेन्टाइनको अवधारणा अपनाउन आह्वान गरेका थिए।
यसोगरेर उनले हुनेखाने भन्दा पनि हुँदाखाने समुदायको नियतिलाई केन्द्रविन्दुमा राखेर सोचिदिएका थिए। उनको जस्तै लकडाउन नगर्ने निर्णय गर्नुपर्थ्यो भन्ने आशय विमलेशको होइन, अहिले पाकिस्तान कोरोनाले दक्षिण एसियाकै सबभन्दा ज्यादा ग्रस्त भएको छ।
तर लम्बिरहेको लकडाउनमा बाहिर सडकपेटी खाली-खाली हुँदै गर्दा, विमलेशको ग्यास-सिलिन्डर यता बन्द भइदिरह्यो भने?
एकछिनमै विमलेशको साँघुरो कोठा मुन्नाको रुवाइले पूरा-पूरा भरिँदैगर्दा, उसको गोजी यता रित्तै-रित्तै भइदिरह्यो भने?
त्यो अवस्थामा के गर्ने भन्ने सरकारको पूर्वतयारी खै?
दुरदर्शिता खै?
विमलेशका लागि इमरान खानको जस्तै चिन्ता, मनन र आत्मीयता खै?
अझ मुख्यतः विमलेशले त सक्ने गरेकै हो, तर यता सरकारले आफूले सक्ने गरेको खै?
घाँटीको आकार नापिदिने चेष्टा गरेको खै?
विमलेशको चामलको बोराझैं हाम्रो देशको भकारी पनि सानो छ। त्यसमा पनि हामी प्राय:जसो वस्तुको खरिदमा भारत लगायत अन्य मुलुकको मुख हेर्दै आएका छौं।
कोरोनाको विश्वव्यापी सन्त्रासकाबीच भारत लगायत धेरै मुलुक सुरूमा आफ्नो दुनो सोझ्याउन लागि परिसकेका छन्, निर्यात बन्द गरिदिएका छन्।
भूकम्पलगायत विगतमा नेपालमा आइपरेका विभिन्न जोखिमको सामना नेपाल एक्लैले गर्नुपरेको थिएन।
जस्तै: जापान, ब्रिटेन, जर्मनी लगायतका दातृ राष्ट्रहरू थिए। अहिले यो अवस्था नि छैन, कोरोनाको जन्जिरमा यी सब झनै नराम्ररी फसिरहेका छन्।
हात फिजाउन विवेकले दिने अवस्था छैन। देश आफैं बाँच्न मजबुर छ। देश बाँच्नका लागि विमलेश बाँच्न जरूरत छ।
यता विमलेशहरू लामो समय कोठाभित्रमात्रै बसिराख्ने अवस्था पनि छैन। अविर-केसरीको टीका लगाएका खुत्रुके टुट्दै र रित्तिँदै गइरहेका छन्। मुन्ना विमलेशसँग रोएझैं विमलेश सरकारसँग रोइरहेको छ। उसको पीडा कसले सम्झिदिने!
कुरा विमलेशको मात्र होइन, ऊभन्दा मजबुर विमलेश, कमलेश कति छन् कति!
ज्याला मजदुरीमा हातमुख जोड्ने एक चौथाइभन्दा ज्यादा विमलेशको गरिब देश हो यो।
कोरोनादेखि डराउनलाई सुरूमा त यी विमलेशहरू भोकमरीदेखि डराउनु भएन। नत्र भने कोरोनादेखि डराउने पालै आएको हुँदैन र फेरि पनि विमलेश यता लुकिछिपी सर्टर घ्वार्र-घ्वार्र पारिरहने छ। कोखाइ-कोखाइ गर्दा खुल्ने मुन्नाको मुख र आँ परेको चामलको धोक्रो पालैपिलो सम्झिँदै कोरोनादेखि डराउन अटेरी गरिरहने छ।
यता म जस्ता स्वाँठ सेठ बाल्कोनीमा सुन्तालाका बोक्रा केलाउँदै विमलेशका अमिला नियतीलाई घामको न्यानोमा चोब्दै बुझपचाएर उसको नियत मात्र डगारी रहनेछौं।