आज सेयर कारोबारमा देखिएको समस्यापछि लगानीकर्ताका पाँचै संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरुको सेयर सम्पत्तिमा असुरक्षा भएको बताएका छन्।
२०७५ सालमा अनलाइन प्रणाली संचालनमा आएको सुरुआती दिनदेखि नै सिस्टममा समस्या देखिएको र पछि विकराल हुँदै गएको लगानीकर्ताले बताएका छन्।
बारम्बार टिएमएस, नेप्सेको वेबसाइटमा समस्या आउने गरेको र मेरो सेयरबाट सेयर भर्दा तथा इडिआइएस गर्दा हुने समस्याले क्लोजआउटमा पर्नुपरेको गुनासो लगानीकर्ताको छ।
इडिआइएसमा ढिलाई हुँदा लगानीकर्ताले कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्ने गरेका छन्।
आज बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबारका बेला कम्पनीको मूल्य १ सय प्रतिशतले घटेको देखिएको थियो भने लगानीकर्ताले अर्डर पोष्ट गर्नै पाएका थिएनन्। (हेर्नुस् निफ्राको सेयर कारोबारमा आज भएको के हो?)
लगानीकर्ताले विज्ञप्तिमा भनेका छन् ‘निफ्राको सेयरलाई हतियार बनाएर परिसूचकमा नियोजित रुपमा नकारात्मक सूचक देखाई लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गर्ने जो कोही पनि व्यक्ति, संस्था वा निकायहरुको यस्ता अवाञ्छित गतिविधिलाई हामी लगानीकर्ताले कति समयसम्म सहेर बस्ने हो?’
यस्ता घटनाहरु नदोहोरिने कुराको सम्वन्धित निकायले प्रत्याभूति गर्नुपर्ने लगानीकर्ता संगठनहरुको माग छ।
इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र सेयर लगानीकर्ता दवाव समूहले संयूक्त विज्ञप्ति जारी गरी आजको घटनाप्रति भत्सर्ना गरेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७, ०८:३८:००