कुवेतको जजिरा एयरवेजले भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवाको सुरुवात गरेको छ। योसँगै मध्य-पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्येक्ष रूपमा जोडिन सक्ने भएका छन्।
विमानस्थल सञ्चालनमा आएसँगै नेपाली एवम् विदेशी पर्यटकहरूलाई विदेशबाट सिधै तराईं जान सजिलो भएको एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले बताए।
यो नेपालका लागि जजिराको दोस्रो उडान सेवा हो। जजिराले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ गन्तव्य थप्दै गएको भाराथनले बताए। ‘यसले कुवेत र मध्य-पूर्वको डाइरेक्ट रूट (प्रत्यक्ष धावन मार्ग)ले सेवा दिन नसकेको यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ,’ उनले भने।
जजिराले सोमबारबाट कुवेत-भैरहवा-कुवेत नियमित उडान सुरू गरेको हो। जजिरा एयरवेजको पहिलो व्यावसायिक उडान सोमबार बिहान ७ बजेर ८ मिनेटमा ५० जना यात्रु लिएर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो।
पहिलो अन्तर्राष्ट्रिय उडान भरेको जजिराले भैरहवामा भव्य स्वागत पायो। उक्त जहाज त्यसै दिन बिहान १० बजे एक सय ३९ जना यात्रु बोकेर फर्किएको हो।
एयर जजिराले सोमबार, बुधबार र शुक्रबार बिहान गरी साताको तीनपटक उडान गर्नेछ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९, ०८:१२:००