दशैं आयो
सँगै आए एक चिम्टी खुसी, एक पित्को उल्लास र भकारी भरीका सपना
घरको छाना छाउने
आङभरी परिवारजनको नयाँ लुगा
शरीरमा स्फूर्ती
चाउरिएको अनुहारमा खुसीको मल्हम
अनुहारमा चमक
हर घरका सपना पनि देश कै स्थितिसँग मिलेछन्
म पनि नेता, मन्त्री भएछु
आश बाँडेको छु
आज हिलोमा हिँड, भोलि रेलमा हुँइक
खाल्डासँग दोस्ती गहिरो आज गर, भोलि चिल्ला सडकले स्वागत गर्नेछ
आज फोक्सोमा नअट्ने प्रदुषणसँग जोरी खोज, भोलि स्वच्छ हावा अरुलाई बेच
हो भोलि रंगीन छ, आज अनकन्टार
आज हावी छ र त भोलिलाई दूर हुत्याएको छ
म छु, भाषा उही छ
भोलि रंगीन जामा हुन्छ आज रुमाल
घरको छानो पक्कै छाइन्छ भोलि, आज घामपानीलाई छाता
सरकार गलत छैन
ऊ पनि म जस्तै टारिरहेछ कामलाई कुराले
मसँग गर्ने ह्याउ छैन
हाम्रा हालत उही छन्, हविगत उही
आऊ सरकार दोस्ती गरम्
दशै मनाऔं
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५, २२:२१:००