बिहान घरबाट निस्किँदा
रित्तो गोजी
रित्तो झोला
र
केही सपना
केही आवश्यकता
अनि
झिनो आशा
सँगसँगै लिएर निस्किन्छु
दिनभरि गल्ली-गल्ली
सडक पेटी
सानादेखि ठूला-ठूला घरहरू
चहार्दा चहार्दै
साँझ पर्छ
नियाल्छु दिनभरिको दौडधुप
सोच्छु उपलब्धि
उपलब्धि त शून्य हुन्छ
अन्धकार रातजस्तै
थकित अनुहार अँध्यारो बनाएर
घर फर्किंदै गर्दा
बाटोमा देख्छु औषधि पसल
अनि याद आउँछ
आमाले खानु हुने औषधि सकिएको
बाबाले लिनु हुने आस्थमाको रित्तो बट्टा
हेर्छु आफ्नो गोजी
गोजी त रित्तो छ
मन अमिलो हुन्छ
गाली गर्छु आफैले आफैलाई
थुक्छु आफ्नै भाग्यलाई
हिर्काउँछु आफ्नै निधारमा
सोच्छु आफै बारे
दु:ख लाग्छ
रुन्छु भित्रभित्रै
सम्झिन्छु कस्तो कु'पुत्र भएँ!
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९, ०६:५३:००