नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले देशमा सिर्जना भइरहेको अराजकताविरूद्ध आफूहरूले आन्दोलन गर्न लागेको बताएका छन्।
माघ २३ गते हुन लागेको सभाबारे जानकारी दिन धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, देशमा अराजकता सिर्जना भइरहेको छ। त्यसैको विरूद्ध आन्दोलन गर्न लागेका हौं। राजनीतिक स्थिरता हुनुपर्छ। राष्ट्रिय स्वाभिमानमा आँच नआओस् भनेर हामी आन्दोलनमा होमिन लागेका हौं।’
उनले आयोगको निर्णयलाई आफूहरूले सम्मान र सकारात्मक ढंगले लिएको बताए। आइतबार निर्वाचन आयोगले नेकपा फुटलाई कानुनी मान्यता नदिएर साविककै विवरण कायम भएको बताएको थियो। आफूहरू फुटको पक्षमा नरहेको भन्दै नेकपा कसैले फुटाउँदैमा नफुट्ने दाबी गरे।
‘आयोगको निर्णयलाई सम्मान र सकारात्मक ढंगले लिएका छौं’, उनले भने,‘ओलीले राखेको अडानलाई आयोगको निर्णयले बल पुग्ने देखेका छौं। हामी फुटको पक्षमा छैनौं। नेकपा फुटेको छैन र चाहेर पनि फुट्दैन।’
आयोगको निर्णयले ओलीलाई कारबाही गर्ने निर्णयलाई गिज्याएको समेत उनले बताए। आइतबार प्रचण्ड-नेपाल समूहले ओलीलाई साधारण समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।
१५ सय केन्द्रीय सदस्य बनाएको काम लागेन नि? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘ती राजनीतिक कुरा हुन्। आवश्यक भए पछि पेश गरिनेछ।’
प्रचण्डले लगाएको अभियोग पत्र फिर्ता लिने र चुनावमा भाग लिए पार्टी एकता रहने समेत उनले बताए।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७, ०३:०८:००