राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष प्रकाशचन्द्र लोहनीले युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गर्ने भएका छन्।
पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका लिङ्देनको पक्षमा समर्थन बढिरहेकाबेला लोहनी यो निर्णयमा पुगेका हुन्।
राप्रपाका अध्यक्षत्रयमध्ये कमल थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। दुई अध्यक्ष पशुपतिशमशेर राणा र लोहनीले उम्मेदवारी नदिने भएका हुन्।
लोहनीले मंगलबार होटल एल्लो प्यागोडाबाट लिङ्देनलाई समर्थन गर्नेबारे कारणसहित सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। त्यस कार्यक्रममा लोहनीले आफ्नो र राप्रपा पार्टी पंक्तिलाई लिङ्देनलाई समर्थन गर्न आफूले अपील गर्ने बताए।
‘म कारणसहित लिङ्देनजीलाई समर्थन गर्दैछु, उहाँलाई भोट दिन अपील पनि गर्नेछु,’ लोहनीले सेतोपाटीसँग भने।
लिङ्देनलाई समर्थन गर्नेबारेमा कारण पनि उनले उल्लेख गरे।
उनका अनुसार राणा र थापाले लामो समयसम्म पार्टी नेतृत्व चलाए। एक पटक आफूलाई दिन लोहनीले अनुरोध गरेका थिए।
‘यदि मलाई समर्थन नगर्ने भए हामी तीनै जना अभिभावकीय रूपमा रहेर युवा नेतृत्व पंक्तिलाई पार्टी चलाउन दिऔं भन्ने मेरो प्रस्ताव थियो,’ उनले भने, ‘त्यसमा सहमति नजुटेकाले मैले आफ्नो समर्थन लिङ्देनलाई गरेको हुँ।’
पूर्वपञ्चहरूको पार्टी राप्रपा एकतापछि मंसिर १५-१७ मा महाधिवेशन गर्दैछ।
राप्रपामा पार्टी एकीकरण हुने र भंग हुने गरिरहेको छ।
लिङ्देनलाई अध्यक्ष पशुपतिशमशेर राणालाई पनि समर्थन गर्न दबाब छ। राणा पक्षधर सबै नेताहरूले लिङ्देनलाई समर्थन गर्ने भइसकेका छन्।
राणा अहिले स्पष्ट नखुलेको पनि उनको समर्थन लिङ्देनलाई रहेको बताइएको छ।
सोमबारै राणा पक्षधरहरूको तीनकुनेमा भेला भएको थियो। त्यसले लिङ्देनको पक्षमा खुल्नेबारे छलफल गरेको थियो।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८, ०७:३४:००