सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्दै सो विश्वविद्यालयलाई सरकारी जग्गा उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरिएको जानकारी दिए।
त्यसैगरी बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ।
लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री कार्कीले बताए।
सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी यान २५४१ मिलियन करिब २ अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकृत गर्ने, नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विभिन्न प्रशारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय भएको छ। र, प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय पनि बैठकले गरेको छ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्वीकृति दिने, विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेशनरीहरू प्रचलनमा नल्याउने र कानुनबमोजिम नष्ट गरी मिनाहा गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको मन्त्री कार्कीले बताए।
उनका अनुसार सरकारले भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फर्स्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना २ दाम जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यसैगरी, कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, ०५:१९:४६