सार्वजनिकस्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी ‘प्राङ्क’को नाममा सर्वसाधारणलाई सास्ती दिने गरेको पाइएको भन्दै गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ।
बिहीबार गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी त्यस्ता क्रियाकलाप गर्नेहरूलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने जनाएका छन्।
‘सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको भिडिओ तयार गर्ने र सामाजिक सञ्जालहरूमा राख्ने गरेको भन्ने गुनासो प्राप्त भएको छ, त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सार्वजनिकस्थलमा गरिएका भद्दा प्रकृतिका ख्याल-ठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव देखिन सक्ने, वादविवाद बढ्न सक्ने, द्वन्द्व सिर्जना हुने र सामाजिक सद्भाव बिग्रन सक्ने गृहले जनाएको छ।
यस्तै, शान्त सुव्यवस्थामा समेत नकारात्मक प्रभाव पार्ने, गोपनीयता, प्रतिष्ठानमा पर्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न गृहले अनुरोध गरेको छ।
व्यक्तिको अनुमति नलिई र सहमतिबिना त्यस्तो भिडिओ सामाजिक सञ्जालमा प्रकाशन गरिए जोसुकैलाई कानुन बमोजिम कारबाही हुने गृहले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, ०९:४७:००