नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले नेपालले केरूङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने बताएका हुन्।
उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले केरुङ–काठमाडौं रेलमार्ग बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताएका छन्।
शर्माले केरूङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव छिमेकी चीन र भारतसँग राख्नुपर्ने बताए।
नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने बताए।
उनले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने बताए।
महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताएका छन्।
उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए। उनले चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने बताए।
‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन। हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ,’ उनले भने।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९, ०४:५१:००