नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक तर्फका ३२ सिटमा क-कसलाई सांसद बनाउने भन्ने निर्णय गर्न शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहित शीर्ष नेता सदस्य छन्। शीर्ष नेताको बैठकमा छलफल गरेर सभापति देउवाले क-कसलाई समानुपातिक सांसद चयन गर्ने सामूहिक निर्णय गर्न चाहेका छन्।
कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ पाएको ३२ सिटमध्ये २९ जना महिला पठाउनुपर्ने हुन्छ। बाँकी ३ जना पुरूष नेता जान पाउँछन्। संघीय संसदमा महिलाको प्रतिनिधित्व अनिवार्यरूपमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधान छ। ५ जना महिलालाई उम्मेदवार बनाएको कांग्रेसमा १ जनाले मात्रै प्रत्यक्षतर्फ जितेकी थिइन्।
पार्टीले यसअघि निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीकै आधारमा समावेशी सिद्धान्तअनुसार समानुपातिक सांसद पठाउने तयारी गरेको छ।
पुरूष ३ जना मात्रै जान पाउने भएपछि सभापति देउवामाथि आफूनिकटलाई समेटेर जान दवाव छ भने नेता शेखर कोइराला पक्षले पनि आफ्ना निकट नेताहरूलाई समेट्नुपर्ने अडान राखिरहेका छन्।
खसआर्य सूचीको पहिलो नम्बरमा पार्टी प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पहिलो नम्बरमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, मधेशीतर्फ पहिलो नम्बरमा पूर्वउपसभापति विमलेन्द्र निधि, दलिततर्फ सहमहामन्त्री जीवन परियार, मुश्लिमतर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुर र थारूतर्फ योगेन्द्र चौधरीको नाम पहिलो नम्बरमा छ।
यी ६ जनामध्ये कांग्रेसले ३ जनालाई मात्रै सांसद पठाउन सक्छ। समानुपातिक उम्मेदवार रहेका यी नेताहरू हिजोआज सभापति देउवादेखि पार्टीका प्रभावशाली नेताहरूलाई भेटेर आफूलाई सांसद बनाउन पहल गर्न माग गरिरहेका छन्।
कांग्रेसले प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ९१ क्षेत्रमा उम्मेदवारी दिएकोमा दलिततर्फ एक जना पनि उम्मेदवार बनाएको थिएन। सहमहामन्त्री जीवन परियार कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भए पनि टिकट पाएनन्, उनलाई समानुपातिकतर्फ दलित क्लस्टरमा पहिलो नम्बरमा राखियो। उनी कांग्रेसको १४ औं महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट सहमहामन्त्री जितेका थिए।
साथै योगेन्द्र चौधरी पनि दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहेका थिए तर पाएनन्। उनी विजयकुमार गच्छदारनिकट हुन्। गच्छदार सुनसरी ३ मा एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए। गच्छदारले आफूनिकट चौधरीलाई समानुपातिक सांसद बनाउन दवाव दिइरहेका छन्।
पार्टी सभापति देउवानिकट रहेका प्रवक्ता महत नुवाकोट क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेका थिए। यहाँ चुनावी तालमेल गर्दा माओवादीलाई छाड्नुपर्ने भयो। त्यसपछि महत खसआर्यतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा परेका थिए। १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका महतलाई सभापति देउवाले पटकपटक जिम्मेवारी दिइरहेका छन्। केन्द्रीय सदस्य बनाउँदै उनलाई प्रवक्ताको जिम्मेवारीमा देउवाले ल्याएका थिए।
पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि देउवानिकट हुन्। महाधिवेशनका बेला निधि पहिलो चरणमा सभापति लडे पनि दोस्रो चरणमा देउवालाई नै सहयोग गर्दै देउवासँग सम्बन्ध सुधारमा छन्। देउवालाई निधिले आफू नेविसंघ सभापति हुँदादेखि नै सहयोग गर्दै आइरहेका थिए।
गोपालमान पनि देउवानिकट छन्। उनलाई यसअघि देउवाले संगठन विभाग प्रमुख बनाएका थिए। देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा श्रेष्ठ उपसभापति भएर काम गरेका थिए। आफू देउवाको लामो समय देखिको सारथी भएको श्रेष्ठले बताउने गर्छन्।
मन्सुर पनि देउवा समूहबाट १४ औं महाधिवेशनमा सहमहामन्त्री जितेका हुन्। कांग्रेसभित्र समानुपातिकमा सांसद पठाउँदा समावेशीताको आधारमा दलित, थारू र मुश्लिम क्षेत्रबाट पठाउनुपर्छ भन्ने माग पनि छ तर देउवालाई सहयोग गरिरहेका र पदाधिकारी भइसकेकालाई सँगै लिएर जान पनि देउवामाथि दवाव छ।
समानुपातिकतर्फ उम्मेदवार रहेका निधिले सहमतिमै पार्टीले समानुपातिक सांसद पठाउने निर्णय गर्ने बताए। ‘शनिबार कार्यसम्पादन समिति बैठक छ। क-कसलाई सांसद पठाउने भन्ने त्यही छलफल गरेर निर्णय होला,’ उनले भने।
समानुपातिकतर्फ अर्का उम्मेदवार गोपालमान श्रेष्ठले पनि पार्टीको निर्णय सबैले मान्ने बताए। ‘पार्टीले को-को सांसद हुने भन्ने कार्यसम्पादनमा छलफल गरेर तय गर्ला, पार्टीले छलफल गरी सहमतिमै निर्णय गर्छ,’ उनले भने।
सबैले आफ्नो तर्फबाट पहल गरेको बताउँदै श्रेष्ठले पार्टीले गर्ने निर्णय सबैले स्वीकार गरेर जानुपर्ने बताएका छन्। सभापति देउवा पक्षले भने क्लस्टरअनुसार सिटमा महिलाबाट प्रतिनिधित्व गराएर पुरूष ३ सांसद भने आफूनिकटलाई पठाउन खोजिरहेका छन्। पुरूषतर्फ समानुपातिक ३ जना पठाउँदा कम्तिमा १ जना आफू पक्षको हुनुपर्ने कोइराला समूहको अडान छ।
निर्वाचन आयोगले दलहरूलाई ३ दिनभित्र समानुपातिक सांसद पठाउन पत्र पठाएको थियो। शनिबार अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्टरअनुसार मिलाएर सांसदको नाम आयोगमा पठाउनुपर्ने हुन्छ। बन्दसूचीअनुसार नाम मिले वा नमिलेको आयोगले जाँच गर्छ र नमिले सोमबारसम्म दलहरूले सच्याउन पाउँछन्।
यो पनि: हेर्नुहोस् आयोगले सार्वजनिक गरेको नेपाली कांग्रेसको समानुपातिक सूची