अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन्।
उनी बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन्।
नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउन अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको उनले बताइन्।
'नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध छैन,' उनले भनिन्।
उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्न आग्रह समेत गरिन्। अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको बताउँदै उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन्।
'भूराजनीति परिवर्तन भई नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो। तर हामी काममा केन्द्रित हुनेछौं। नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला। हामी साथमा काम गर्नेछौं। अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौं। नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो,' उनले भनिन्।
प्रमुख सामन्थलाई सञ्चारकर्मीहरूले 'अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने प्रजातन्त्र सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो' भन्ने प्रश्न राखेका थिए।
जवाफमा उनले नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धताहरू व्यक्त गर्न पाउने अवसरका रूपमा हेरेको बताइन्। उनले सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन्।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, २१:४७:००