नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद बिस्तार हुन अझै दुई/तीन दिन लाग्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार तयारीबारे विश्वासको मत दिएका सबै दलहरूसँग परामर्श जारी राखेको बताउँदै खड्काले मन्त्रिपरिषद बिस्तार हुन केही समय लाग्ने बताए।
‘प्रत्येक दिन गठबन्धन बैठक बसिरहेको छ। प्रधानमन्त्रीले दलका नेताहरूसँग छलफल गरिराख्नुभएको छ। उहाँले विश्वासको मत पाएपछि दुई/चार दिनमा मन्त्रिपरिषद बिस्तार हुन्छ भन्नुभएको थियो। त्यही स्पिटअनुसार प्रक्रिया अघि बढेको छ,’ आज संघीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले भने, ‘अब दुई/तीन दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ।’
उनले कुन दलले कति मन्त्रालय दिने र कुन-कुन मन्त्रालय लिने भन्नेबारे निर्णय भइनसकेको र छलफलकै क्रममा रहेको पनि बताए। यसबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा रहेका दलका नेताहरूसँग दिनहुँजसो छलफल गरिरहेको खड्काको भनाइ छ।
‘कुन दलले कुन मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने निर्णय भइसकेको छैन, छलफल भइरहेका छन्,’ खड्काले भने, ‘कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को-को मन्त्री पठाउने भन्नेबारे निर्णय गरिसकेको छैन। केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गर्छौं।’
प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत पाएका थिए। सत्ता गठबन्धनका दलहरू कसलाई कति मन्त्रालय दिने भन्ने भागबन्डा नमिल्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ हुँदै आएको छ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १७:०५:००