नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा बेइमानी कल्पना गर्न नसकिने बताएका छन्।
एमाले इमानका लागि इमानका साथ लडेको पार्टी भएको उल्लेख गर्दै ओलीले पार्टीभित्र भएका बेइमानीहरू हटाउनुपर्ने बताए।
मिसन ग्रासरूट अभियान अन्तर्गत सोमबार गुल्मीको तम्घासमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेभित्र गैर एमाले प्रवृत्ति छ भने त्यसलाई हटाउनुपर्ने बताए।
‘एमालेभित्र गैर एमाले प्रवृत्ति हुनुहुँदैन, छन् भनेपनि हटाउनुपर्छ,’ उनले भने।
सयौं खहरे खोलाहरू कालिगण्डकीमा मिसिएपछि गण्डकीकै रूपमा शान्त बनेजस्तै एमालेका कार्यकर्ताहरू पनि शान्त, शालिन र संयमित हुनुपर्ने बताए।
ओलीले मिसन ग्रासरुट अभियानको क्रममा जनतामाझ गएर पार्टी विरूद्ध विरोधीहरूले फिजाएका भ्रमलाई चिर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे।
चुनावका बेला भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा ५१ प्रतिशत स्थान सुरक्षित गर्ने गरी लाग्न उनले नेता कार्यकर्तालाई आग्रह गरे।
‘निर्वाचनका बेला कमीकमजोरी भएपनि अब त्यस्ता कमजोरी नदोहोराउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्छु। निर्वाचनको समीक्षा गर्दै जनताका घरघरमा पुगेर एमालेविरूद्ध फैलाएका भ्रमहरू चिर्न लाग्नुस्,’ उनले भने।
विरोधीले फिजाएका भ्रमबारे एमालेका कार्यकर्ताले जनतालाई बुझाउन नसक्दा प्रदीप ज्ञवालीले हार्नुपरेको पनि उनले बताए।
‘जनताबाट पनि कहिलेकाँही भुलचुक हुन्छ, हामीले जनतालाई बुझाउन सकेनौं, विरोधीले भ्रममा पारे भने जनताबाट भुलचुक हुन्छ, गुल्मी क्षेत्र नं. १ मा पनि जनताबाट त्यस्तै भुलचुक भएको हो,’ ओलीले भने।
पहिले जितेको ठाउँमा देशविदेशमा परिचित भइसकेका र पार्टीबाट सक्षम व्यक्ति हार्नु जनता र पार्टीका कार्यकर्ताको भुल नै भएको टिप्पणी गर्दै खुलस्त छलफल गर्न आग्रह गरे।
‘साथीभाइ खटेका पनि छन्, जनताले भोट पनि दिएका छन् नेता कार्यकर्तालाई केहि भन्न पनि भएन तर, भोट कम भयो, यो कम्ती किन भयो,’ उनले भने।
नेपाली कांग्रेसमा चन्द्र भण्डारी असल र भलाद्मी
अध्यक्ष ओलीले गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका चन्द्र भण्डारी असल र भलाद्मी व्यक्ति भएको बताए।
‘गुल्मीबाट जित्नुभएका चन्द्र भण्डारी भलाद्मी व्यक्ति नै हुनुहुन्छ। तर उहाँले बोकेर हिँडेको विचार गलत छ,’ उनले भने।
आफू नेपालका सबैजसो जिल्ला घुम्दापनि कांग्रेसभित्र चन्द्र भण्डारीजस्तो असल र भलाद्मी अर्को कुनै व्यक्ति नभेटेको ओलीको भनाइ छ।
‘नेपालमा तिनफन्का लगाउँदा पनि मैले कांग्रेसभित्र चन्द्र भण्डारीजस्तो भलाद्मी व्यक्ति भेटेको छैन, उहाँ व्यक्ति राम्रो भएपनि उहाँले बोकेर हिँड्ने डोकोमा पार्टीले गलत नीति राखिदिन्छ त्यही बोकेर हिड्नुहुन्छ,’ उनको टिप्पणी थियो।
ओलीले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यलाभको कामना समेत गरे।
‘उहाँले जितेको जिल्लामा आउँदा उहाँको स्वास्थ्यलाभको कामना गर्छु र सोही घटनामा परी उहाँको माताको निधन भएकोप्रति दु:ख व्यक्त गर्छु, श्रद्धासुमन व्यक्त गर्छु,’ ओलीले भने।
मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार साविक लुम्बिनी अञ्चलका जिल्लाको भ्रमणमा निस्किएका ओली कपिलवस्तु, अर्घाखाँची हुँदै सोमबार गुल्मी पुगेका हुन्। सोमबार गुल्मीको तम्घासमै बस्ने ओलीले मंगलबार पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गरी बुटवल आउने कार्यक्रम तय गरिएको छ।