जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुस्तकालय स्थापना गरिएको छ। ‘सँगै पढौं’ भन्ने नाराका साथ पुस्तकालय स्थापना गरिएको प्रहरीले जनाएको छ।
प्रहरी हिरासतमा रहेका थुनुवाको लागि केन्द्रित गरी शुरू गरिएको उक्त पुस्तकालय क्रिडाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सहयात्रा परियोजनाले स्थापना गरेको हो।
बाल निगरानीमा रहेका बालबालिका तथा थुनुवामा सकारात्मक सोच विकास गर्न तथा अध्ययनको बानी बसाल्न स्थापना गरिएको उक्त पुस्तकालय जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी, जिल्लास्थित अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा अन्य सर्वसाधारण पाठकहरुका लागि समेत खुल्ला गर्ने योजना रहेको डिएसपी जयश्वर रिमालले जानकारी दिए।
विभिन्न लेखकका ७५ वटा साहित्यिक पुस्तक र १४ वटा कानूनी पुस्तकबाट पुस्तकालय शुरु गरिएको हो।
अनिवार्य ड्युटीमा रहेका बाहेक अन्य प्रहरी कर्मचारीको लागि बिहानको ८ बजे देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म गरी दैनिक २ घण्टा किताव पढ्ने समय छुट्याइएको छ।
हिरासतमा रहने थुनुवाको लागि भने उनीहरुको चाहना अनुसारको समयमा पुस्तक उपलब्ध गराउने डिएसपी रिमालले बताए।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९, ०१:२२:००