संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ।
मन्त्रालयले खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाहरूले हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन्। मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ।
मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीहरूलाई समेत सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७९/१२/०९ को निर्णयानुसार अनुरोध छ। ’
मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका/गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १७:२२:४१