मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालले आफूलाई कुटपिट गर्नेविरूद्ध कारबाहीको माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्।
प्रहरीमा पथरीशनिश्चरेका मनाेज लिम्बूसहितले कुटपिट गरेकाे उजुरी परेकाे छ।
कोशी प्रदेशको विरोधमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्थानीय तह तालाबन्दी गर्ने क्रममा उर्लाबारी-६ का वडाध्यक्ष पौड्यालमाथि कुटपिट भएको थियो। उनलाई आन्दोलनरत पक्षले कुटपिट गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
कुटपिटबाट वडाध्यक्ष घाइते भएका छन्। पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको वडाध्यक्ष पौड्यालले बताए।
आन्दोलनकारीहरूले पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका छन्।
यस्तै, संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो। संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।
यस्तै, कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्।
आन्दोलनकारीहरूले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए।
यसैबीच स्थानीयवासीले वडा अध्यक्ष माथिको कुटपिट अक्षम्य भएको भन्दै आरोपितलाई अविलम्ब पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्।
सयौंको संख्याका वडाबासीले प्रहरी कार्यालय घेराउ गर्दै वडा अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका हुन्।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, १७:५३:००