कोरोना भाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदैछन्।
युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तीब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो।
अन्तमा युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकालेको छ। दुबै प्रतिस्पर्धालाई अब निर्धारित एक देशका मात्र रंगशालामा सबै खेल खेलाइनेछ। यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन।
अन्तिम १६ को दोस्रो लेगका बाँकी चार खेल यहि साता हुनेछन्। अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा आगामी अगस्ट १२ देखि हुनेछ।
फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र एटलान्टा तथा आरबी लेइपजिग र एथ्लेटिको मड्रिडबीच खेल हुनेछ।
रियल मड्रिड र म्यानचेष्टर सिटीको विजेताले लियोन र युभेन्टसको विजेतासँग खेल्नेछ। यस्तै नापोली र बार्सिलोनाको विजेतो चेल्सी र बायर्न म्युनिखबीच हुने खेलको विजेतासँग खेल्नेछ। यी टिमले अन्तिम १६ को दोस्रो लेगका चार खेल खेल्न बाँकी छ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७, ०१:४०:००