फुटबल खेलका दौरानमा खेलाडी तथा अफिसियलले जानाजान खोकेको पाइएमा रातो कार्ड दिन सक्ने नियम ल्याइने भएको छ।
फुटबलको नियम निर्माता तथा फुटबल संघले यस्तो नियम बनाउने गृहकार्य गरिरहेको बिबिसीले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय फुटबल एशोसिएसन बोर्डका अनुसार जानाजान खोकेमा रातो कार्ड दिने नियम गाली तथा दुर्व्यवहार शीर्षक अन्तर्गत ल्याउन लागेको नयाँ नियम हो।
पछिल्लो समय कोरोना भाइरस संक्रमण संसारभर बढिरहेकोले खोकेमा पनि कारवाही गर्ने नयाँ नियम ल्याउन लागिएको हो।
कोरोनाका कारण खेल संचालन गर्दा विभिन्न नयाँ नियम ल्याइएको छ। यस्तै कोरोनापछि सञ्चालन भइरहेका खेलहरूमा दर्शकलाई प्रवेश दिइएको छैन।
‘यदी कसैले अन्जानबस खोकेमा रेफ्रीले कुनै कारवाही गर्ने छैन,’ बोर्डको भनाइ छ,‘तर कसैले जानजान खोकेको पाएमा रेफ्रीले कारवाही गर्न सक्नेछ।’
तर कसैले लगत्तै आफ्नो गल्ती स्वीकार गरेको स्थिती हेरेर रेफ्रीले पहेंलो कार्ड पनि दिन सक्नेछ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७, ०६:११:००